काठमाडौं ।
शहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरूलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् । लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरूलाई मन्त्रालयमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले भने, ‘अब तपाईँहरूको निजी जीवनभन्दा फराकिलो स्पेस भएको छ । राज्यले पनि तपाईँहरूमाथि ठुलो लगानी र भरोसा गरेको छ । राज्यले दिएको जिम्मेवारीमा जबाफदेही बन्नुहोला । कहिल्यै पैसाका पछि नलाग्नुस् । तपाईँले इमानदारीपूर्वक काम गर्नुभयो भने पैसा आफैँ तपाईँको पछि लाग्नेछ ।’
इन्जिनियरले पैसा नखाई कलम नै चलाउँदैनन् भन्ने सुनिएको भन्दै मन्त्री चौधरीले जनतालाई सेवा दिने कुरामा सधैँ ध्यान दिन र जनताले नबुझ्ने भाषामा नबोल्न समेत आग्रह गरे ।
‘जनतालाई पिर पर्ने काम नगर्नुस् । मन दुख्ने भाषा नबोल्नुस् । तपाईँ जहाँ जानुहुन्छ त्यहाँ रहेका आफू मुनिका कर्मचारीलाई पनि नहेप्नुस् । नथर्काउनुस् । राम्रो संस्कार देखाउनुस् । मेहनतमा विश्वास गर्नुस् । मेहनतले नै तपाईँहरू सचिव बन्न सक्नुहुनेछ,’ उनले भने ।
ठूला नेता र कर्मचारीका नाम लिएर मन्त्रालयमा दबाब नदिन र पोस्टिङ भएकै ठाउँमा गएर काममा खटिन समेत मन्त्री चौधरीले निर्देशन दिएका छन् ।
इन्जिनियरिङ सेवा सिभिल समूह अन्तर्गत बिल्डिङ र आर्किटेक तर्फ ४१ र जनरल उपसमूहतर्फ १८ जना इन्जिनियरहरूलाई मन्त्रालयका सचिव डा। रमेशप्रसाद सिंहले शपथ खुवाएका थिए ।
प्रतिक्रिया