काठमाडौं, २२ असोज ।
नेकपा एकीकृत समाजवादीबाट अछाम क्षेत्र नम्बर १ मा श्रममन्त्री शेरबहादुर कुँवरले टिकट पाएका छन् । गठबन्धनको साझा उम्मेदवारका रूपमा मन्त्री कुँवरले टिकट पाएका हुन् । यस्तै प्रदेशसभातर्फ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाउने छन् ।
सादगीपन र स्वच्छ छवि भएका नेता कुँवर पार्टीभित्र कुशल संगठक मानिन्छन् । २०३९ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुबाट औपचारिक राजनीतिमा होमिएका उनी हालसम्म निरन्तर कम्युनिष्ट राजनीतिमा सक्रिय छन् ।
नेता कुँवरले पटक पटक पार्टीको जिल्ला तहको नेतृत्व सम्हालेका छन् । उनले २०६२ मा तत्कालीन एमालेको जिल्ला कमिटी सचिव, २०६९ मा एमाले जिल्ला कमिटी अध्यक्ष, वि.सं. २०७६ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला कमिटी अध्यक्ष, नेकपा विभाजनपछि २०७८ मा नेकपा एकीकृत समाजवादीको पहिलो जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । नेता कुँवर २०७४ मा नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । हाल उनी नेकपा एसको प्रदेश कमिटी उपाध्यक्ष, सुदूरपश्चिम प्रदेश संगठन विभाग प्रमुख एवं केन्द्रीय संगठन विभाग सदस्य हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुन् ।
नेता कुँवर विद्यार्थी कालदेखि जुझारु नेता मानिन्छन् । पार्टी संगठनका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार रहने नेता कुँवर विभिन्न आन्दोलनका क्रममा गिरफ्तार समेत परेका थिए ।
उनी २०४७ को जनआन्दोलनमा काठमाडौँको बग्गीखानामा एक हप्ता जेल परेका थिए । यस्तै २०५१ मा गाउँमा अन्यायका विरुद्ध आवाज उठाउँदा सार्वजनिक मुद्दा लगाइएपछि झण्डै पाँच दिनसम्म उनी थुनामा परेका थिए ।
तत्कालीन माओवादी जनयुद्धका कारण अन्य पार्टीहरू संकटमा परिरहेका बेला नेता कुँवरले अछाममा नेकपा एमालेको बिउँ जोगाएका थिए । सो समयमा अछाम सदरमुकाम मंगलसैनमा रहेर उनले कठिन र जोखिमयुक्त राजनीतिक यात्रा अघि बढाएका थिए ।
प्रतिक्रिया