काठमाडौं, २३ असोज ।
टीकापुर हत्याकाण्डका प्रमुख अभियुक्त रेशम चौधरीको उम्मेदवारी रद्द हुने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदकाे निर्वाचनका लागि वारिसनामामार्फत दर्ता भएको उम्मेदवारी रद्द हुने भएको हो । प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा १३ को (घ) बमोजिम चौधरीको उम्मेदवार रद्द हुने व्यवस्था छ ।
‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति उम्मेदवार हुनका लागि अयोग्य ठहरिने’, ऐनमा उल्लेख छ । सोही दफाको उपदफा (ङ) अनुसार सजाय भुक्तान गरेको ६ वर्षसम्म पनि उम्मेदवार बन्न नपाउने उल्लेख भएकाेले उनी कैद भुक्तान गरेको ६ वर्षसम्म पनि उम्मेदवार बन्न पाउने छैनन् ।
चाैधरीलाई २०७५ फागुनमा जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य योजनाकार ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय गरेको जिल्ला अदालत कैलालीको फैसला उच्च अदातल दिपायलले पनि विसं. २०७७ पुसमा सदर गरेको थियो । अभियोग प्रमाणित भएपछि चौधरी डिल्लीबजारस्थित सदर जेलमा छन् ।
चौधरीले बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा आफ्नै श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट वारिसनामामार्फत उम्मेदवारी दर्ता गरेका थिए । थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ‘टीकापुर घटना’मा आठ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो ।
घटनापछि फरार भएका चौधरीले विसं. २०७४ मा कैलाली क्षेत्र नम्बर १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते ।वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए ।
तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको शपथ लिए । शपथपछि पनि जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
अब निर्वाचन आयोगले भाेलि (सोमबार) दिउँसो ३ बजे उम्मेदवारको मनोनयनको जाँच गर्नेछ । उक्त जाँचका क्रममा चौधरीको उम्मेदवारीबारे निर्णय लिन सक्नेछ । यद्यपि यसबारे अन्तिम टुंगो आयोगले नै लगाउने भएकाले चौधरीको उम्मेदवारी रद्द हुने वा नहुने भन्ने थाह पाउन भोलि दिउँसोसम्म पर्खनुपर्ने देखिन्छ ।
प्रतिक्रिया