क्वालालम्पुर, २५ असोज ।
मलेसियाका प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद् विघटनको घोषणा गरेका छन् । प्रधानमन्त्री याकूबले संसद् विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जानकारी दिए । उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ ।
देशमा राजनीतिक स्थायित्व, जिम्मेवार तथा सुनिश्चित सरकारको आवश्यकता रहेकोमा समेत उनले जोड दिएका छन् । निर्वाचनकै मिति भने अहिले घोषणा भइसकेको छैन । सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ ।
सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्याशित विभिन्न घटनाक्रम भएको त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाइ छ । सम्बोधनका क्रममा उनले भनेका छन्, ‘हामीले फेरी जनताको अभिमत लिने निर्णय गरेका छौँ, जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ, निर्वाचनबाट प्राप्त जनताको अभिमत अनुसार गर्नेछौँ ।’
प्रतिक्रिया