अत्तरिया । नेकपा एमालेका सचिव लेखराज भट्ट सुदूरपश्चिममा माओवादीको जग बसाउने नेता हुन् । २०३३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका भट्टले आफ्नो जीवनको ऊर्जावान् समय माओवादीमा बिताए । जनयुद्धदेखि यस क्षेत्रको कमाण्ड समाल्दै आएका भट्ट शान्ति प्रक्रियामा आएपछि पनि १२ वर्ष माओवादीमै रहेर सुदूरपश्चिमको कमाण्ड समाले ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि भने २०७५ सालमा भट्टले पाएको प्रदेश कमाण्डरको जिम्मेवारी खोसियो र, भीम रावल प्रदेश इन्चार्ज बने । तर, यो परिस्थिति धेर दिन टिकेन । ३ वर्ष नपुग्दै नेकपा विभाजन भयो । पुनः एमाले, माओवादी फरक–फरक पार्टी बने ।
यो विभाजन पछि भट्टलाई पुनः प्रदेशको कमाण्ड गर्ने जिम्मेवारी मिले पनि पार्टी परिवेश भने बदलिन पुग्यो । राजनीतिक उतार चढावकाबीच उनी एमालेको सुदूरपश्चिम इन्चार्ज बन्न पुगे । कठिन परिस्थितिमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएर एमालेमा सेफ ल्याण्डिङ गरेका भट्टमाथि अब एमालेबाट सेफ टेकअफ गर्ने चुनौती छ ।
यसअघि ३ पटक चुनाव लडिसकेका भट्ट मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा पहिलो पटक सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । पहिलो पटक २०६४ सालको संविधान सभा निर्वाचनमा निर्वाचित भट्ट २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पराजित भए पनि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए । यद्यपि ०७४ को निर्वाचनमा भट्ट वाम गठबन्धनका सभा उम्मेदवार थिए ।
पार्टी मिल्दा धेरै हद सम्म भोटको संख्या पनि मिल्ने कुरा यसअघिको ०७४ को आम निर्वाचन र ०७९ सालको स्थानीय निर्वाचनले पनि पुष्टि गरिसकेको छ । पार्टी भित्र कुनै आन्तरिक खटपट नभए अहिले नेपालको राजनीतिमा यो सूत्रले राम्रोसँग काम गरिरहेको छ । अघिल्लो चुनावमा यही सूत्रको फाइदा लिएर संसद् भवन छिरेका भट्टका लागि अहिले यही सूत्र चुनौती दिइरहेको छ ।
भट्टले एमालेलाई नेकपाकै निरन्तरता रूपमा व्याख्या गरेर आफ्नो क्षेत्र (कैलाली) – ४० मा माओवादी पुरै एमालेमा आइसकेको दावी गर्दै आएका छन् । तर, स्थानीय निर्वाचनको परिणामले पर्ने त्यो दाबीलाई पुष्टि गर्दैन ।
स्थानीय निर्वाचनमा अहिलेको सत्ता गठबन्धनका बिच मेयर/अध्यक्ष, उपमेयर/उपाध्यक्ष पदमा चुनावी तालमेल भए पनि क्षेत्र नम्बर ४ का सबै ३० वडामा यी पार्टी एक्ला एक्लै चुनाव लडेका थिए । जुन भोटलाई अहिले पार्टीको शक्तिका रूपमा लिने गरिएको छ ।
यो निर्वाचन क्षेत्रमा गोदावरी नगरपालिकाका १२, गौरीगंगा नगरपालिका ११, चुरे गाउँपालिकाका ६ र मोहन्याल गाउँपालिकाको एक वडा रहेका छन् । जसमध्ये स्थानीय तहको चुनावमा कांग्रेसले १५ वडा, एमालेले ९ वडा, माओवादी ४, एकीकृत समाजवादी १ वडा र स्वतन्त्रले १ वडा जितेका छन् । जसमा सत्तारुढ गठबन्धनले कूल जितेको वडा संख्या २० हुन आउँछ, जुन एमालेले जितेको भन्दा दोब्बर हो ।
यस्तै कुल मत हेर्दा कांग्रेसको २२ हजार ९९७, एमालेको २० हजार ८१, माओवादीको १० हजार १२३, एकीकृत समाजवादीको ४ हजार २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीको ३ हजार २३४ रहेको छ । मत परिणाम हेर्दा पनि गठबन्धनको मत एमालेको भन्दा झण्डै दोब्बर छ ।
यस क्षेत्रमा एमाले एक्लै चुनाव लडिरहेको छ भने गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा वीर बहादुर बलायर चुनावी मैदानमा छन् । कांगे्रसमा प्रतिनिधि सभाका लागि धेरै आँकाक्षी भए पनि अन्तिममा बलायरले टिकट पाएका थिए ।
जसले गर्दा कांग्रेस भित्र यस पटक पनि केही किचलो बाँकी नै छ । यसै किचलोका कारण बलायरले कांग्रेसबाट पाउने मत घटेमा त्यसको पूर्ति गठबन्धनको भोटले गर्नेमा बलायर ढुक्क छन् । त्यसैले डोटीमा हुँदा गठबन्धन आवश्यक छैन भन्ने बलायर अहिले गठबन्धनको मत तान्न निकै जोडबल गरिरहेका छन् ।
उनले आफ्नो चुनावी परिचालन समितिमै गठबन्धनका दललाई समेटेका छन् । कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति वसन्त रोकायाको संयोजकत्वमा बनाइएको ४ सदस्यीय मूल चुनाव परिचालन समितिमा नेकपा माओवादी केन्द्रका तर्फबाट क्षेत्र नम्बर ४ का संयोजक बल बहादुर महत, नेकपा एकीकृत समाजवादीका तर्फबाट क्षेत्रीय संयोजक रत्ना कडायत र राष्ट्रिय जनमोर्चाका तर्फबाट राष्ट्रिय परिषद् सदस्य हरिकृष्ण पाण्डेय रहेका छन् ।
०७४ को निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई देशभर गठबन्धनले चुनौती दिइरहेको भए पनि पूर्व माओवादी पृष्ठभूमिका भट्टका लागि भने माओवादीले नै चुनौती दिने अवस्था आएको छ । स्थानीय चुनावकै हाराहारीमा पार्टीगत भोट दोहरिएमा भट्टलाई माओवादीको भोट भारी पर्न सक्छ । यस क्षेत्रमा माओवादीले प्रदेशमा पनि टिकट नपाएको भए पनि माओवादी गठबन्धनका पक्षमा खुलेरै लागेको छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट क्षेत्र नम्बर ४ का संयोजक महतले पार्टीको केन्द्रीय सर्कुलर अनुसार माओवादी गठबन्धनलाई चुनाव जिताउन लागेको बताए । उनले भने ‘ठूलो पार्टीमा एकाध समस्या होलान् । तर, सिँगो पार्टी गठबन्धनको पक्षमा छ ।’
क्षेत्र नम्बर ४ मा स्थानीय तहमा वडाको नतिजाले पनि कांग्रेस र एमालेको मत करिब समान भएकाले यस क्षेत्रमा माओवादी निर्णायक हुने देखिएको छ । यसरी हेर्दा एमालेका सचिव भट्टका लागि उनले नै यस क्षेत्रमा संगठन बिस्तार गरेको उनको पुरानो पार्टी भारी पर्न सक्ने आकलन राजनीतिक वृत्तमा गर्न थालिएको छ ।
यद्यपि अहिलेको चुनावमा नयाँ मतदाता थपिनु, भट्टका प्रतिस्पर्धी फेरिनु, राजनीतिक दलको समीकरण बदलिनुले पनि चुनावको नतिजा पुरानो अङ्कगणित सँग मिल्नेमा ढुक्क हुने अवस्था छैन ।
प्रतिक्रिया