१९ मंसिर २०८०, मंगलबार

घोषणा गरिसकिएको राजधानी पुनः चुनावी एजेण्डा बन्दै



अत्तरिया। अघिल्लो प्रतिनिधि सभाले राजधानी घोषणा गरिसकेको भए पनि पुनः दोस्रो चुनावमा पनि सोही विषयलाई नेताहरूले चुनावी एजेण्डा बनाउन थालेका छन् । करिब ४ वर्ष अगाडी दुई तिहाइ बहुमतले कैलालीको गोदावरीमा प्रदेशको राजधानी तोकिसकेको भए पनि पुनः राजधानीको विषयलाई नेताहरूले चुनावी मुद्दा बनाउन थालेका हुन ।

राजधानी तोकिएको क्षेत्रबाट चुनाव लडिरहेका नेताहरूले राजधानी तोकिएकै क्षेत्रमा राजधानीका संरचना बनाउने भनेर जनतालाई आश्वस्त पार्ने प्रयास गरिरहेका छन् भने अन्य क्षेत्र (डोटी, डडेलधुरा)बाट चुनाव लडिरहेका नेताहरूले भने राजधानी सार्ने भन्दै मत माग्न थालेका छन् ।

कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाको उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरका सामु भने अहिले राजधानीको विषयलाई चुनावी मुद्दा बनाउनुपर्ने बाध्यात्मक परिस्थिति नै आएको छ ।

बलायर स्वयंले कैलाली क्षेत्र नम्बर  ४ को उम्मेदवार बन्नु पूर्व प्रदेशको राजधानी अझै पनि हावामा रहेको अभिव्यक्ति दिएका थिए । जसलाई उनका प्रतिस्पर्धी उम्मेदवारले राजधानी डोटी सार्न खोजेको रूपमा अर्थ्याएर प्रचार गर्न थालेपछि उनले अहिले हरेक जसो कार्यक्रममा यसको बारेमा स्पष्टीकरण दिनु परिरहेको छ ।

‘मैले भनेको हो राजधानी धनगढी डेरामा छ, गोदावरी हावामा छ । मैले के गलत भने ? गोदावरी जमिनमा राजधानी भए त देखिन्थ्यो होला । एउटा साइनबोर्ड त देखिएको छैन । नदेखिने ठाउँमा त हावामै हो’ बुधबार गौरीगंगामा आयोजित प्रचारप्रसार तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘अब जमिनका बनाउनका लागि हामी तत्पर छौँ । हामी तयार छौँ । हामी यो ४ नम्बर क्षेत्र भित्र यसको बस्तुगत भौगोलिक अध्ययन गर्ने छौँ ।’

उनले राजधानी बनाउनका लागि सबैभन्दा पहिले केन्द्रबाट भोगाधिकार ल्याउने बताए । उनले भने ‘भोगाधिकार ल्याएपछि हामीले हाम्रो क्षमता अनुसार भौतिक पूर्वाधार निर्माण गर्ने छौँ  । हामी निर्वाचित हुनासाथ काम सुरु गर्ने छौँ।’

बलायरले बारम्बार गोदावरीमै आफूले राजधानी बनाउने दाबी गरिरहँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार लेखराज भट्टले भने बलायरको कुरामा विश्वास नगर्न आफ्ना  चुनावी प्रचारप्रसारका कार्यक्रममा बताउँदै आएका छन् ।

डोटीलाई आधार बनाएर राजनीति गर्दै आएका बलायर यस अघिसम्म डोटीमा नै प्रदेश राजधानी हुनु पर्ने पक्षमा थिए । डोटीबाट उम्मेदवार हुँदासम्म प्रदेश राजधानी डोटीमा नै हुनु पर्ने पक्षमा रहेका बलायर प्रदेशको राजधानी तोकिएको क्षेत्रबाट नै उम्मेदवार बनेपछि  उनले मतदातालाई दुई तिहाइले राजधानी घोषणा गरिएकाले सार्न नसकिने कुरा बताउन थालेका छन् । तर, उनका प्रतिस्पर्धी उम्मेदवारले भने यसैलाई चुनावी मसला बनाइरहेका छन् ।

एमाले सचिव समेत रहेका भट्टले भने आफूले मात्रै यस क्षेत्रमा राजधानी बनाउन सक्ने दाबी गर्दै आएका छन् । ‘आज हाम्रो प्रतिपक्षी उम्मेदवारले राजधानी डोटी लग्ने भनेको कुरा सबैले बुझेका छन्, देखेका छन्, सुनेका छन्’ चुनावी प्रचार प्रसारकै एक कार्यक्रममा उनले भने ‘वहाँ त अहिलेको प्रविधिमा देखिनु भएको छ । पहिलेको जस्तो मेरो स्वर होइन भन्न मिलेन । अहिले भिडियोमा मान्छेको अनुहार सहित आवाज आएको छ ।’

यस क्षेत्रबाट चुनाव लडिरहेका दुई नेता घोषणा भइसकेको राजधानीका विषयमा आ– आफ्नो स्वार्थ अनुरूप व्याख्या गर्न थालेपछि जनतामा झन् अन्योल सृजना भएको छ ।

यस क्षेत्रमा बलायर र भट्टले आफूले गोदावरीमा नै राजधानी निर्माण सुरु गर्ने प्रतिबद्धता व्यक्त गरिरहँदा  डोटीबाट प्रतिनिधि सभाका उम्मेदवार नेकपा एसका प्रेम आले प्रदेश राजधानी डोटीमा ल्याइ छोड्ने प्रतिबद्धता गर्दै भोट मागिरहेका छन् ।

उनले गोदावरीमा संरचना नबनेको अवस्थामा डोटीका नेता मिलेर त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न सकिने बताउँदै आएका छन् । वनका कारण गोदावरीमा राजधानी बन्न नसकेको र त्यसलाई पुनर्विचार गर्ने उनको तर्क छ ।

यसअघि गत वैशाखमा पालिकाको निर्वाचनका क्रममा कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश राजधानी डडेलधुरामा सार्न सकिने बताएका थिए । जसले गर्दा अझै पनि देउवा चुनाव पछि डडेलधुरामा राजधानी बनाउने पक्षमा त छैनन् भन्नेर आशंका व्यक्त गर्ने गरिन्छ ।

४ वर्ष अगाडी घोषणा गरेर पनि राजधानीका आवश्यक संरचना बनाउन नसक्दा अहिले यो विषय पुनः चुनावी मुद्दा बनेको हो । उता राजधानी घोषणा गरेको प्रदेश सरकार भने राजधानी बनाउने भनेर तोकेको क्षेत्रलाई सङ्घीय सरकारले भोग चलन गर्ने अधिकार नदिँदा राजधानीका भौतिक संरचना बनाउन नसकिएको बताउँदै आएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १२ : १४ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ