काठमाडौं। बाढी पहिरोले जुम्लामा मार्सीधानका फाँटसमेत बगेका छन् । मानवीय क्षति, मूल सडकदेखि घर तथा बस्ती जोखिम भएकाले धानबालमिा भएको क्षति एकीन गरिएको छैन ।
तर, पाक्नै लागेका धानका फाँट बगेपछि किसानलाई ठूलो समस्या भएको छ । यसपटक भोकमरी हुने डर भएको हिमा गाउँपालिका १ बड्कीका लालबहादुर शाहीले बताए । सिंजा क्षेत्रमा धानवालीसहित, सिमी, मकै, कोदो र बर्खेबालीमा यसपटकको भारी वर्षाले क्षति पुर्याएको छ ।
कनकासुन्दरी ५ निवासी उपेन्द्र न्यौपानेका अनुसार १९ देखि २६ असोजसम्म पानीको सतह बढेपिछि सिंजा क्षेत्रको कनकासुन्दरीमा कुउलापाटा, लासी खेती, तल्लो दियार ज्यूलो, बाधंगागा ज्यूलो, धिमीचौर ज्यूलामा धानसहित खेतमा समेत क्षति पुगेको छ ।
बाढीपहिरोपछि क्षति बढेपछि सरकारले जुम्ला, हुम्ला, कालिकोट र मुगुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोहीअनुसार अहिले जुम्लामा पनि राष्ट्रिय बिपत प्राधिकरणको टोली संकटग्रस्त क्षेत्रमा काममा लागेको छ । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले सिंजा क्षेत्रमा काम गरेर पातारासी गाउँपालिकामा टोली काम खटिएको बताइन् ।
लगातारको वर्षाले सिंजा क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ । बाढी पहिरोले मानवीय क्षतिसँगै भौतिक क्षतिले सिंजा अहिले आक्रान्त छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार जुम्लामा एक हजार नौ सय ५२ मानिस विस्थापित भएका छन् ।
जसमध्ये सिंजा गाउँपालिकामा सात सय २५ जना र कनकासुन्दरी, गाउँपालिकामा २९८ जना गरी १०२३ जना नागरिक विस्थापित भएका छन् । सिंजा गाउँपालिका भवनमा बाढी पसेको अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
बाढी पहिरोमा परी गत २२ र २३ असोजमा सिंजा क्षेत्रको कनकासुन्दरी गाउँपालिका ७ वारकोटेवाडामा पहिरोले एकै परिवारका पाँचजना, छिमेकी दुईजना र पुल तर्दै गर्दा सोही वडामा एकजना गरी आठजनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया