दार्चुला । कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री छन् । यहीबीचमा आम निर्वाचन पनि हुँदैछ । एकातिर मन्त्रालयको जिम्मेवारी र अर्कोतर्फ प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट उम्मेदवार ।
मन्त्रालय र निर्वाचनको मोर्चा एकैसाथ सम्हाल्नुपरेकोले अर्को उम्मेदवारभन्दा बढी दबाबमा छन् बडू । ‘अहिले म जनताको घरदैलोमा छु’ बडूले भने ‘एकैचोटी दुवै जिम्मेवारी हुँदा केही दबाब त पर्छ नै । तर पनि सम्हालेर अगाडि बढिरहेको छु ।’
दार्चुलामा नेता बडू ‘ह्याभिवेट’ उम्मेदवार हुन् । ‘मन्त्री हुन् जिल्लामा धेरै समय कसरी देलान् भनेर लागेको थियो, तर उहाँ धेरै समय हाम्रैबीचमा हुनुहुन्छ’ सोमबार दार्चुलाको शैलेशिखर—४ काँडापारीमा आयोजित कार्यक्रममा सहभागी का एक जनाले भने ‘उहाँको उपस्थितिले हामी उत्साहित छौ, अब उहाँलाई उत्साहित बनाउने पालो हाम्रो ।’ ‘विगत १५ वर्ष अरूलाई अवसर दियौँ, उहाँलाई मत नदिएर अन्याय भएकै हो’ अर्का एक मतदाता भन्दै थिए, ‘यसपालि न्याय हुन्छ, हुनुपर्छ ।’ उहाँ चुनावी सरकारको मन्त्री हुनुहुन्छ । अस्ति चैत्र २४ पछि मात्रै अहिलेको मन्त्रालयमा आउनुभयो तर उहाँको पहलमा थुप्रै योजनाहरू जिल्लामा आएका छन्’ बडूको उम्मेदवारीबारे अर्का एक युवाले भने ‘करिब तीन वर्ष दुई तिहाइको सरकार बन्दा पनि केन्द्रबाट दार्चुला उपेक्षामा पर्यो, खाद्य अभाव हुने यस जिल्लामा खाद्य डिपो ल्याउन पनि २१ वर्ष लाग्यो, त्यो पनि नेता बडूकै पहलमा । त्यसैले जिल्लाको विकासका लागि पनि अब केन्द्रमा प्रभाव पार्न सक्ने उम्मेदवार जिताउन जरुरी छ ।’
‘प्रदेश सरकारको नेतृत्व गरेको माओवादी केन्द्र पनि गठबन्धनमा छ । प्रदेश ‘ख’ का उम्मेदवार मानबहादुर धामीले मुख्यमन्त्रीको जिल्लाको भन्दा बढी योजना दार्चुलामा ल्याउनुभएको छ । प्रदेश ‘क’ का उम्मेदवार विक्रम धामी परीक्षण हुन बाँकी छन् । त्यसैले अरू गफ गर्न सिपालु छन् गठबन्धनका नेताहरू काम’ चुनावी प्रचारमा सहभागी अर्को व्यक्तिले भने ।
नेता बडू चुनाव जित्दा वा हार्दा पनि दार्चुलावासीको सम्पर्कमै छन् । २०६४ देखि २०७४ सम्म संसदबाहिर रहे तर जनताबाट टाढा रहेनन् । यही कारण पार्टी र पार्टीबाहिर पनि बडूप्रतिको सद्भाव बढेको छ । २०७४ मा समानुपातिकबाट सांसद बने बडू । त्यसयता संसदमा अधिकांश दार्चुलाकै मुद्दा बोलिरहे र संसद् नचलेको बेला फुर्सद पाउने बित्तिकै जिल्ला गइरहे । यस पटकको स्थानीय तहदेखि अधिकांश समय दार्चुलामै छन् ।
तराईमा जस्तो दुर्गम जिल्लामा प्रचारप्रसारका लागि सजिलो छैन । उकाली—ओराली, भीर पाखा, गोरेटो बाटो, छरिएर रहेका बस्ती । तर, नेता बडू ती सबै प्रतिकूलताका बाबजुद जनताको घरदैलोमै छन् । ‘अरू पार्टीलाई ठूलो बनायो, बलियो सरकार पनि बन्यो तर उनीहरू बलियो भएको बेला न संसद् सुरक्षित हुने न सरकार’ मन्त्री बडूले भने,‘जनताले अवसर दिँदा पनि काम नहुने भएपछि फेरि तिनैलाई किन जिताउने ? जिल्लाको विकास होस् या देशको, हरेक अप्ठ्यारोमा हामी नै चाहिने, कांग्रेस नै चाहिने भएपछि जनताले अरूलाई केका लागि मत दिने ?
‘हामी गठबन्धनका उम्मेदवार, नेता, कार्यकर्ताहरू विकास योजनाको स्पष्ट खाका लिएर जनताको माझमा छौँ । फरक पार्टीमा आस्थावानहरुले पनि सबै बाध्यता तोडेर यस पटक तपाईँलाई जिताउँछौ भन्ने वचन दिइरहनुभएको छ’ मन्त्री बडूले भने ‘जनताको यो अपार सद्भावले म साँच्चै उत्साहित छु । हामी मन र मत जोड्न अवश्य सफल हुनेछौ ।’
प्रतिक्रिया