अहमदाबाद । गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । आइतबार छठको समयमा मानिसहरूको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो ।
ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । यस विषयमा छानबिन गर्न विशेष टोली गठन गरिएको छ ।
अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार आज साँझ पौने ७ बजे छठ पूजाको सन्दर्भमा केही अनुष्ठान गर्न जम्मा भएका करिब ५०० मानिसहरू भेला भएका बेला भत्किएको थियो ।
पुल भत्किएपछि माचु नदीमा केही मानिस हराइरहेका छन् । फसेका केही मानिसको उद्धार गरिएको थियो ।
मृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेको स्थानीयले बताएका छन् ।
७० जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ । करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मत सम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो ।
प्रतिक्रिया