काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो चुनावी घोषणा पत्र यसै साताभित्र सार्वजनिक गर्ने भएको छ । तिहार र छठका कारण सार्वजनिक गर्न ढिलाई भए पनि घोषणा पत्र भने तयार भइसकेको जसपाका प्रवक्ता मनिष सुमनले राजधानी लाइभलाई जानकारी दिए ।
उनले भने, ‘घोषणापत्रकाे सबै तयारी सम्पन्न भएकाे छ । अब यही १९/२० गते तिर काठमाडौंमा शिर्ष नेताहरूसहित घोषणापत्र सार्वजनिक गर्छाैँ ।’
जसपाले घोषणापत्रमार्फत् पछिल्ला राजनीति परिदृश्य र देशको समग्र विकासबारे गहन समीक्षा गर्ने जनाएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्दै संविधानमा रहेका त्रुटिहरू सच्याउन आफूहरूको माग कायम रहने पनि घोषणापत्रमा समावेश हुने बताइएको छ।
जसपा परिवर्तनकारी शक्ति भएकाले यसले पश्चगमनलाई आत्मसात् गर्नेहरूको भण्डाफोर गर्ने समेत जनाएको छ । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायतका दलहरुले भने यसअघि नै चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
प्रतिक्रिया