१४ आश्विन २०८०, आइतबार

भोट माग्ने अस्त्र बन्दै वृद्ध भत्ता : आमा बुबालाई छोराछोरी विदेशिएको चिन्ता

सधैँ वृद्ध भत्ताकाे आश्वासन बाँड्नेहरुले किन देशमा पर्याप्त रोजगारीका अवसर सिर्जन गर्न सकिरहेका छैनन् ?



काठमाडौँ । सुनसान छन् गाउँका वस्तिहरू, सुनसान छन् बाटाहरू, रित्ता छन् पहाड जस्तै ठिग्रिङग ठडिएका घरहरू । यसरी उभिएका छन्, मानौँ वर्षौ देखी कसैको प्रतीक्षामा छन्, खेत जग्गाहरू बाझा छन्, थोरै जग्गामा मात्र खेती गरिएको छ । यो नै एउटा सङ्केत हो गाउँमा केही मानिसको बसोबास अझै छ ।

पछिल्लो समय गाउँमा मान्छे मरे भने मलामी जाने मान्छे समेत छैनन् । धेरै युवाहरू रोजगारीको खोजीमा विदेशीएका छन् भने बाँकी रहेका पनि पढाइको सिलसिलामा सहर पसेका छन् । यी माथि वर्णन गरिएको यथार्थ हो, नेपालका अधिकासं ग्रामीण वस्तीको ।

तर अहिले परिवेश ठिक उल्टो भएको छ । यहि मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । चुनाव नजिकिएसँगै गाउँघरमा चहल पहल बढेको छ । यति बेला उम्मेदवारहरू भोट माग्न गाउँ गाउँ पुगेका छन् । सबै पार्टीहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । चुनावी घोषणा पत्रमा पार्टीहरूको मुद्दा फरक फरक भए पनि एउटा मुद्दा भने साझा जस्तै देखिएको छ, त्यो हो ‘वृद्ध भत्ता’ ।

चुनावी घोषणा पत्रमा नेपाली काँग्रेस, नेकपा एमालेदेखि राप्रपा लगायतका सबै पार्टीले वृद्ध भत्ता बढाउने एजेन्डालाई प्राथमिकताका साथ राखेका छन् । अर्को अर्थमा भन्दा वृद्ध भत्ताको आश्वासन दिइरहेका छन् । हाल चुनावी घोषणापत्र सार्वजनिक गरिरहँदा यस अघिका घोषणापत्रमा उल्लेख भएका कुराको के कति कार्यान्वयन भए त  ?

आर्थिक वर्ष २०५१/२०५२ सालमा तत्कालीन अर्थमन्त्री स्व. भरत मोहन अधिकारीले पहिलो पटक बजेटमा वृद्ध भत्ताको व्यवस्था गरेका थिए । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा घोषणा भएको वृद्ध भत्ता १०० बाट सुरु गरिएको थियो । त्यतिखेर सुरु भएको वृद्ध भत्ता अहिले दलहरूले भोट मान्ने अस्त्रका रूपमा प्रयोग गरिरहेका छन् ।

वृद्ध भत्ताको जस लिँदै आएको नेकपा एमालेले त गर्ने नै भयो तर नेपाली काँग्रेस लगायतका अरू सबै पार्टीले वृद्ध भत्ता बढाउने नीति अगाडी सारेका छन् । नेपाली काँग्रेसले ६५ वर्ष कै उमेरमा वृद्ध भत्ता पाउने व्यवस्था मिलाउने आफ्नो चुनावी घोषणापत्रमा घोषणा गरेको छ ।

यस्तै नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले वृद्ध भत्तामा पाउने रकम बढाउने घोषणा गरेका छन् । अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा सामाजिक सुरक्षाका लागि सरकारले कुल १ खर्ब ८९ अर्ब ८९ करोड रुपैयाँ विनियोजन गरेको छ । १०० बाट सुरु भएको वृद्ध भत्ता हाल चार हजार पुगेको छ । सरकारमा हुँदा सबै दलहरूले देशको आर्थिक अवस्थालाई बेवास्ता गर्दै वार्षिक रूपमा वृद्ध भत्ता बढाएका छन् ।

वृद्ध भत्ताको नाममा बाँडिने रकमले राज्यलाई आर्थिक भार बढाइरहेको छ । राज्यलाई आर्थिक भार हुने जान्दा जान्दै दलहरू भोट पाउने लोभमा वृद्ध भत्ता बढाउने प्रतिस्पर्धा नै गरिरहेका छन् । देशमा पर्याप्त मात्रामा रोजगार सिर्जना गर्नमा किन बजेट विनियोजन भएको छैनन् । यसको उत्तर कसले दिने ?

वृद्ध भत्ता आफैमा राम्रो योजना साबित भई सकेको छ तर वृद्ध भत्ता बढिरहँदा देशमा रोजगारीको अवसर नपाएर विदेशीने नेपाली युवाको संख्या पनि वार्षिक रूपमा बढिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार वार्षिक ५ देखी ६ लाख नेपाली विदेशीने गरेका छन् । ती विदेशीनेमा धेरै जसो जनशक्ति देशमा रोजगारी नपाएकै कारण विदेशीने गरेका छन् ।

वृद्ध आमा बुवाको भत्ता बढिरहँदा मरेको दिन चितामा आगो लगाउने छोरो आफैसँग हुन्छ की हुदैन् भन्ने चिन्ताले पिरोलिरहेको छ । यो हरेक नेपालीको घरका वृद्ध आमा बुवाको साझा दुखत भोगाई हो । के वृद्ध भत्ता बढ्नु मात्र देश विकास हो त ? किन बारम्बार सत्तामा जाने नेपालका दलहरू वृद्ध भत्ताको साटो रोजगार सिर्जन गर्नमा असफल छन् ।

परिवारसँगै बस्ने, आफ्नै देशमा रोजगार गर्ने हरेक नेपालीहरूको सपना कहिले साकार हुने ? नेपालको कुन दलले कहिलेसम्म वृद्ध भत्ताका साटो रोजगारीका अवसर बढाउने ?

तारा देवी ७० वर्ष पुगिन् । उनको चार वटा सन्तान मध्यको एक्लो छारो काम कै सिलसिलामा कतार गएको छ। तारा देवी छोरो फर्किने आशामा बाटो हेरेर बसिरहेकी छन् । तर छोरो कहिले फर्किने अत्तोपत्तो छैन । ‘मर्नु भन्दा पहिले छोरोको मुख हेर्न पाए खुसी खुसीले नै मर्ने थिए तर छोरोले दागबत्ती दिन पाउँछ कि पाउँदैन ? मैले अन्तिम पटक छोराको मुख हेर्न पाउँछु की पाउँदिन रु’ उनले आँखाबाट आँसु झार्दै भनिन् ।

तारा देवी जस्तै २५ वर्षीय दीपिका राउत ३ वर्ष दुबई बसेर घर फकिएकी छन् । नेपालमा गरी खाने केही आधार नबने पछि आफू विदेशीएको उनी बताउँछिन् । घरमा एक्लो बा छन् । आमाको पहिले नै मृत्यु भइसकेको छ । घरको एक्लो छोरो आफ्नो भाई पनि कामकै सिलसिलामा साउदीमा रहेको दीपिकाले बताइन् । हाल उनी एक महिनाको बिदामा नेपाल आएकी हुन् ।

उनले राजधानी लाइभसँग कुरा गर्दै भनिन्,‘बुढा भएका बुवालाई छोडेर विदेश जान रहर त कहाँ होर  ? यहाँ बाच्नलाई समेत केही आधार छैन, बाध्यताले फर्किनै पर्छ । बरु अर्को पटक आउँदा बुवाको मुख पो हेर्न पाउँछु की नाइँ  ?’

बुढा भएका वद्धहरुको लागी सन्तान भन्दा ठुलो खुसी अरू के हुन सक्ला र ? तर नेपालका हरेक वद्धहरुले रहर हुँदा हुँदै पनि छोराछोरीसँगै बस्न पाएका छैनन् । नेपालका दलहरू वृद्ध भत्ता बढाइरहँदा दैनिक विदेशिने नेपाली युवाहरुको भविष्यसँग किन गम्भीर छैनन् ।

अहिलेको परिवेशमा सबै भन्दा व्यस्त कोही छ भने त्यो नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । रातिको एक बजेसम्म पनि विदेशिने युवाको भिड हुन्छ ।

सधैँ वृद्ध भत्ताका आश्वासन बाड्नेहरुले किन देशमा पर्याप्त रोजगारीका अवसर सिर्जन गर्न सकिरहेका छैन ? चुनावमा रोजगारको आशा देखाउनेहरू किन सत्तामा गए पछि सबै कुरा बिर्सिछन् ? के युवा चुनावको समयमा मात्र प्रयोग गरिने वस्तु हो  ? होइन भने नेपालका सबै ठुला दलहरूले देशमा रोजगार किन छैन भन्ने प्रश्नको उत्तर दिनै पर्छ । के यस भन्दा अगाडीका चुनावमा दलहरूले युवालाई रोजगारको आशा देखाइका हैनन् त ?

जबसम्म देशमा पर्याप्त मात्रमा रोजगारको अवसर हुदैन्, नेपाली जनताले आफ्नो परिवारसँगै बसेर जीवन यापन गर्न सक्ने आधार बन्दैन तबसम्म वृद्ध भत्ता बढाइनुको कुनै तुक छैन । वृद्ध भत्ता बढेको खुसीमा भन्दा छोरा छोरी आफूसँग नभएकोले हरेक नेपाली वृद्ध आमा बाबा दुखी छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ११ : ३२ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास