१४ फाल्गुन २०८०, सोमबार

अन्तर्वार्ता

संसद्‌मा पुगेर अनियमितता र भ्रष्टाचारको भण्डाफोर गर्छु : रन्जु दर्शना [अन्तर्वार्ता]



युवा पुस्तामा  परिचित नाम हो रन्जु दर्शना । वि.सं. २०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरको प्रमुख पदमा २१ वर्षको उमेरमा नै उम्मेदवारी दिएर उनी एकाएक चर्चाको शिखरमा पुगिन् । उक्त निर्वाचनमा पराजित भए पनि सम्मानजनक मत प्राप्त गरेकी दर्शना राजनीतिमा सक्रिय नै छन् । यसअघि उनी आबद्ध विवेकशील साझा पार्टीमा वैचारिक खडेरी महसुस गरेपछि  हाल स्वतन्त्र रूपमा चुनाव लडिरहेकी छन् । विभिन्न महत्वाकांक्षी प्रतिबद्धतासहित काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी उनै युवा नेतृ रञ्जु दर्शनासँग राजधानी लाइभकर्मी रेखा श्रेष्ठले गरेको  कुराकानी :

काठमाडौं ५ मा तपाईंको चुनाव प्रचारप्रसार कस्तो भइरहेको छ ?

चुनाव प्रचार प्रसार एकदमै राम्रो भइरहेको छ, उत्साह जनक छ । सकेसम्म सबै मतदाताको घर घरमा गएर  भेटिरहेका छौं । भेट्न नपाएका मतदाताहरूले आफैले फोन गरिरहनु भएको छ ।  चुनावको प्रचारप्रसार उत्साहजनक  रूपमा भइरहेको छ ।

कस्ता प्रतिबद्धता लिएर जनतामाझ गइरहनु भएको छ ?

मेरा एजेण्डा मुख्य गरी दुई वटा  कुरामा केन्द्रित छन् । पहिलो काठमाडौं क्षेत्र नं ५ केन्द्रित एजेण्डा र अर्को भनेको समग्र देशलाई समेटेर बनाइएका एजेण्डा छन् । क्षेत्र नं ५ केन्द्रित योजनामा मूख्यगरी स्थानीयले थुप्रै गुनासो र समस्या दर्साउनु भएको छ । जुन कुरा सांसदको कार्यक्षेत्रमा नपरे पनि हामीले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर पुरा गर्नेछौं ।

म झुटको खेती गरेर भोट लिन चाहन्नँ । मतदाताले यो कुरालाई निकै नै राम्रो रूपमा लिनु भएको छ । अर्को प्रतिबद्धताअन्तर्गत समग्र नागरिक केन्द्रित मुद्दा हुन् । त्यो भनेको मानसिक स्वास्थ्य सम्बन्धी एजेण्डा हो ।

मानसिक स्वास्थ्य सम्बन्धी स्पष्ट नीति बनाउने र आम नेपाली नागरिकको मनको भारी बिसाउने चौतारी बन्नु र बनाउनु मेरो पहिलो प्राथमिकता हो ।

हरेक घरमा मानसिक तनाव र मानसिक समस्या सँग लडिरहेका छन् । म यसको समाधान गर्नका लागि प्रतिबद्ध छु । अर्को एजेण्डा भनेको भ्रष्टाचार उन्मुलन र सुशासन स्थापना गर्न बेनामी कारोबार ऐन बनाउनु हो, यो भनेको नीति निर्माण, कानुन निर्माणमा हुने कुरा हो । जुन म संसद् भएर गर्न सक्ने काम हो । संसदमा गएर अनियमितता र भ्रष्टाचार गर्नेको भण्डाफोर गर्छ, उसलाई सुरक्षा दिने नीति बनाउनु पर्छ भनेर पनि म अघि बढिरहेको छु ।

यस्तै वातावरण र युवासँग जोडिएको मुद्दा पनि छ । वातावरणीय मुद्दामा जलवायु परिवर्तन नेपाल जस्तो सानो मुलुकले गरेको होइन । ठुला ठुला कारखाना भएको देशहरूले गरिरहेको छ । तर त्यसको असर नेपाल जस्तो देशले भोगिरहेको छ ।

यो गलत छ भनेर सचेत गराउन सांसद भएको हिसाबले अन्तर्राष्ट्रिय प्ल्याटफर्महरुमा अव हामीले आवाज उठाउनु पर्छ भन्ने मेरो अर्को मुद्दा हो । त्यसै गरी लैगिंक, अल्पसङ्ख्यक व्यक्तिहरूलाई कानुनी रूपमा पहिचान पत्र पाउनको लागि गाह्रो भइरहेको छ । त्यस्ता कानुनी बन्देज हटाउन अब हामीले बोल्ने बेला भइसकेको छ ।

यो मेरो एउटा मुद्दा हो भने अर्को मुद्दा  स्टार्ट अप नीति । नयाँ नयाँ व्यवसाय, कामहरू गरेर रोजगारीको सिर्जना गर्ने युवा र हर कोही व्यक्तिलाई राज्यको करकाप होइन, साथको जरुरत हुन्छ ।

झन्झटिला प्रक्रिया होइन सहज वातावरण चाहिन्छ र सबै भन्दा महत्त्वपूर्ण कुरा मिहेनति, ऊर्जाशील र देश मैँ केही गर्छु भन्ने व्यक्तिहरूलाई व्यवसायको थालनी गर्न र विकास गर्न ‘पुँजी’ को आवश्यकता पर्छ ।

यी सबै कुरालाई ध्यानमा राखी स्टार्ट अप महाअभियान सञ्चालन गरिनुपर्छ । त्यसको  लागि पहिला मार्ग निर्देशन गर्ने दस्ताबेज र एक दरिलो नीति चाहिन्छ ।

यस कार्यको लागि म प्रतिबद्ध छु । त्यसै गरी शिक्षा आधारभूत विषय हो र संविधान अनुसार आधारभूत शिक्षा निःशुल्क समेत छ तर कस्तो शिक्षा आवश्यक छ भन्ने विषयमा छलफल, चिन्तन हुनु आवश्यक छ । त्यसैले वर्तमान शिक्षा नीति र कानुन समय सापेक्ष बनाउनै पर्छ ।

तपाईंले मानसिक स्वास्थ्यलाई पहिलो एजेण्डा बनाउँछु भन्नु भएको छ । नेपाली समाजमा अरू समस्या पनि छन् ।  पहिलो नम्बरमा नै किन यही एजेण्डा ?

मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या हरेक घरमा छ र हर कोहीलाई हुनसक्छ । हरेक घरमा कोही न कोही सदस्य मानसिक तनाव र अन्य मानसिक समस्यासँग लडिरहनु भएको छ ।

प्रथम त सबैको मन मस्तिष्कमा शान्ति हुने वातावरण बनाउने मेरो काम हो । दोस्रो, कसैलाई मानसिक समस्या छ भने उनको वेदनामा मलम लगाइदिने काम सरकारको हो । तर हालसम्म यस्ता कुराको अध्ययन नै भएको पाइँदैन । मानसिक स्वास्थ्यले शारीरिक स्वास्थ्यमा पनि असर गर्छ ।

म आफैं तनावको कुनै चरणबाट गुज्रिसकेपछि यसले मलाई छोएको हो । यसलाई उठाउनै पर्छ भन्ने लागेको हो । अहिले पनि धेरै जना मनोचिकित्सककहाँ जान हिचकिचाउँछन् । यससम्बन्धी थुप्रै भ्रम छन् । यसका लागि सरकार पछि हट्न पाउँदैन । त्यसैले मैले यो मुद्दा उठाएको हो ।

युवा मतदाताका तपाईँप्रति कस्ता अपेक्षा छन् ?

उहाँहरूले म सांसद भए भने अहिले जसरी भोट मागिरहेको छु, त्यसरी नै काम गरेर देखाउनु भनिरहेका छन् । अहिले हामी यो समस्या छ, त्यो समस्या छ भनेर भन्दैनौँ, तपाइले जित्नु भयो भने र तपाईँसँग स्रोत साधन भइसके पछि हाम्रो समस्या सुनाउँछु भन्नु भएको छ । अहिले जसरी अध्ययन गरेर बोली रहनु भएको छ । यो कुरालाई कार्यान्वयन गर्नुहोस् ।

अरूले जस्तो ठुला ठुला कुरा नगर्नुहोस् भनेर युवाहरूले सिधै मसँग कुरा गरिरहेका छन् । मैले गर्ने भनेको पनि त्यही हो । अध्ययन गरेर प्रमाण खोजेर मात्र नीति बनायौँ भने मात्र त्यो नीति दिगो हुन्छ र कार्यान्वयन गर्न सहज हुन्छ । अनि अर्को कुरा म सांसद भएर जुन कुरा चलिरहेको छ, त्यो सिस्टम बिगार्ने, आफ्नो मान्छे राख्ने काम गर्नु भएन ।

जुन चलिरहेको सिस्टमलाई के सुधार गर्न आवश्यक छ ? कसरी अझ बलियो बाउन सकिन्छ भन्ने कुराको ध्यान दिने लगायतका कुराहरूमा युवा मतदाताहरूको म प्रति अपेक्षा छ ।

निर्वाचनमा यो तपाईँको दोस्रो उम्मेदवारी हो । यस अघि पहिलो स्थानीय तहमा दलबाट उम्मेदवारी दिनु भएको थियो भने यस पटक स्वतन्त्रबाट उठ्नु भएको छ । यो दलबाट र स्वतन्त्रबाट उठ्दा के फरक पाउनु भयो ?

मैले यसअघि दलबाट उम्मेदवारी दिँदा पनि खासै संगठन थिएन । दल भन्ने नाम थियो तर वडामा समेत  संगठन थिएन । त्यस कारण अहिले स्वतन्त्र भए जस्तै पहिले पनि लगभग त्यस्तै नै थियो । तर दल हुँदा पार्टीमा एक दुई जना भए पनि दलका सदस्य वडा, टोलमा हुने हुनाले धेरै पहिलादेखि नै सभा, गोष्ठी, सम्मेलनमा सहज हुन्थ्यो ।

अब स्वतन्त्र व्यक्तिका लागि साथीभाइ, परिवारजनलाई कुनै ठाउँमा चियापान गर्दिनु भन्न सकियो । तर केही फरक चैँ हुन्छ । अर्को चैँ दलको चुनाव चिन्ह अलि पहिलादेखि नै प्रचारप्रसार भइसकेको हुन्छ । तर स्वतन्त्रका लागि चुनाव चिन्ह एक पटक अर्कै, अर्को पटक अर्कै हुँदा मतदाताहरूलाई कन्फ्युजन हुन्छ ।

यसरी कन्फ्युजन हुने हुँदा स्वतन्त्र उम्मेदवारलाई चुनौती छ । तर राजनीतिक सङ्गठन नभएका कारण हामीले सकेसम्म धेरै मतदातालाई भेट्ने अवसर छ । यो अवसरलाई मैले सकारात्मक रूपमा लिएको छु ।

यस पटकको निर्वाचनमा कसलाई मुख्य प्रतिपष्पर्धीको रूपमा लिनुभएको छ ?

मेरो यसपालिको प्रमुख लडाई अब बाहिर फिल्डमा हेर्दा र अरूले विश्लेषण गरिरहँदा प्रमुख दलका उम्मेदवार जो हुनुहुन्छ, उहाँहरू भर्सेस रन्जु भनेर आइरहेको छ । जुन केही हदसम्म सत्य पनि हो ।

किनकि म राजनीतिक रूपमा सक्रिय भएको धेरै भएको छैन । केही हदसम्म राजनीतिमा नयाँपन ल्याउने मेरो कोसिस हो र म निरन्तर लागि पनि रहेको छु । त्यसकारण विश्लेषण यसरी आइरहेको छ । अब मतदाताहरूले पनि स्वतन्त्र मध्येहरुबाट पनि उत्कृष्ट रन्जु हो भनेर छान्नुपर्ने कठिनाइ छ ।

पुराना र स्थापित पार्टीका दुई जना ह्याभिवेट नेतासँगको प्रतिष्पर्धामा तपाईंको जित कति सम्भव देख्नुहुन्छ ?

अब उहाँहरूको अनुभव के का लागि हो रु उहाँहरूलाई पुराना भन्नुभयो । ल्याण्ड लाइन फोनहरू बिना कुनै जमानामा हाम्रो भेटघाट, सम्पर्क हुन मुस्किल थियो । तर अहिले स्मार्ट फोनको जमाना आइसक्यो । पकेट पकेटमा फोन बोकेर हिँड्छौं । ल्याण्ड लाइन फोन जरुरी नै छैन । स्मार्ट फोनको जमानामा लेन लाइन आवश्यक छ भन्नु के आधारमा हो ?

अर्को कुरा लेन लाईमा भएको प्रविधि नै स्मार्ट फोनमा आएर गाभिएको हो । त्यस कारण मैले उहाँहरूको यो भएन, त्यो भएन पनि म भन्दिन । उहाँहरूको राजनीतिक यात्रा अघि बढिरहेको छ ।

मुख्य गरेर नागरिकहरूमा चोट परेको चाहिँ दलहरूकै कारण हो । जनतालाई फेरी पनि ढाँट्ने छल्ने काम गर्नु हुँदैन । अब जनताले सही निर्णय लिनेछन्, जसका कारण अब उहाँहरूलाई गाह्रो पर्ने छ ।

अघिल्लो पटक मेयर चुनाव लड्दा युवाको सम्मानजनक मत पाउनुभएको थियो । फेरि किन स्थानीय तहमै चुनाव लड्नुभएन? यो पाँच वर्ष के गर्नुभयो ?

यो मेरो निरन्तरता नै हो । मैले मेयरमा भन्दा पनि सङ्घीय निर्वाचनमा आफूलाई सक्षम ठानेँ । त्यतिखेर मैले उम्मेदवारी दिँदा पाएको चौतर्फी हौसला र उमङ्ग अझै मेरो मन मस्तिष्कमा गुन्जिरहेको छ । त्यतिखेर युवाहरूलाई राजनीतिमा प्रवेश गर्ने खुड्किलो बनेको थियो  । त्यो बेला उत्साहजनक मत आए पनि जीत भएन ।

हारियो भन्दैमा फेरि नउठ्ने कुरा हुँदैन । लडे पछि फेरी उठ्नु पर्छ भनेर यस पटक सङ्घीय निर्वाचनमा उम्मेदवारी दिएकी हुँ ।

यो पाँच वर्ष विश्राम लिन्छु अथवा पाँच वर्ष पछि फर्किन्छु भनेर म बसेको हैन । तर जुन जुन कामहरूमा समय खर्च भयो, त्यो सबै खेर गयो । मेरो सबै भन्दा बढी समय भनेको पार्टीभित्रको कुराहरूमा खर्च भयो । तर त्यो सबै खेर गयो ।

अर्को पाँच वर्षपछि पनि चुनावमा उठ्नु हुन्छ कि हुन्न, के छ योजना ?

उठ्नै प-यो । जीवनमा लडेपछि उठ्नपर्छ । मङ्सिर ४ मा जित्छु भनेर अगाडि बढिरहेको छु । जीत भएन भने के हुन्छ, त्यो मङ्सिर ५ पछि थाहा हुन्छ । विगत पाँच वर्षमा धेरै काम गर्नबाट वञ्चित भएँ ।

पार्टीको गिजोलागिजोलले मलाई धेरै अप्ठ्यारो पा-यो । अब आउने पाँच वर्षमा त्यस्तो हुँदैन । निर्वाचनपछि यहाँहरूले मलाई मेरै निर्वाचन क्षेत्रमा आएर भेट्नुपर्नेछ । म सक्रिय भएर लाग्नेछु ।

अन्त्यमा, मतदाताले तपाईँलाई नै किन भोट गर्ने ?

मतदाताले मलाई भोट गर्ने भनेकै मेरो एजण्डा हेरेर हो । मेरो नयाँ कुरालाई हेरेर हो । अनि अर्को कुरा म व्यक्ति कस्तो हो भनेर हेर्ने हो ।  मेरो अघि पछि कोही नभए पनि एक्लै  अडिग भएर बस्ने मान्छे हुँ ।  अर्को कुरा म युवा भएका कारण पनि नयाँ नयाँ कुरा आइरहेको छ ।

मैले गरेका बाचा कार्यान्वयन गर्न समेत तत्पर छु । मैले आफूले गर्न सक्ने एजेण्डा मात्र घोषणा पत्रमा समावेश गरेको छु । मैले चुनावी अभियान बढी खर्च गरेर तडक भडक गरेर गर्ने मनसाय पनि थिएन र त्यसरी प्रचारप्रसार पनि गरेको छैन ।

मेरो प्राथमिकता मतदाताको घरघरमा पुगेर त्यहाँका समस्या सुन्ने हो । म यही क्षेत्रमा जन्मेको हुर्केको भएको नाताले पनि यही क्षेत्रमा योगदान गर्न आएको मान्छे हो भनेर बुझेर नै मलाई उहाँहरूले भोट हाल्नुहुन्छ ।  र मलाई विजयी गराउनु हुनेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ५७ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२