अत्तरिया । सुदूरपश्चिम प्रदेशमै बढी चासोका साथ हेरिएको कैलाली क्षेत्र नम्बर ४ मा उम्मेदवारहरूले चुनावी प्रचारप्रसार अभियानलाई तीव्र पारेका छन् ।
सोही क्रममा प्रतिनिधिसभाका उम्मेदवार नेकपा एमालेबाट निर्वाचनमा होमिएका लेखराज भट्ट र गठबन्धनका तर्फबाट कांग्रेसका वीर बहादुर बलायर चुनाव जित्ने दाउका साथ चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् ।
यस क्षेत्रमा यी दुवै बीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । दुवै जना पार्टीका प्रभावशाली र पूर्व मन्त्री समेत रहेकाले दुवै बीच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको हो । दुवै जना चौथो पटक चुनावी मैदानमा होमिएका भए पनि भट्ट एउटै क्षेत्रबाट चौथो पटक चुनावी मैदानमा छन् भने बलायर यस क्षेत्रबाट पहिलो पटक चुनाव लड्दै छन् ।
जसले गर्दा भट्टले ३ पटक सम्म सांसद हुँदा के–के गरे भन्ने प्रश्नको सामना गरिरहनु परेको छ भने बलायरले उनका विगतका कमजोरी खोतल्दै मतदाता रिझाउने रणनीति अघि सारेका छन् । २०७४ सालमा निर्वाचित भएपछि मन्त्री समेत भएका भट्टले सो अवधिमा विभिन्न काम अगाडी बढाएको भन्दै मतदातालाई फकाउने प्रयास गरिरहेका छन् ।
उनले आफू उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा यस क्षेत्रमा अगाडी बढाएका विभिन्न योजनाको फेहरिस्त चुनावी भेलामा सुनाउने गरेका छन् । सोमबार कैलाली क्षेत्र नम्बर ४ अन्तरगत गौरीगंगा नगरपालिका – ११ मा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै सचिव भट्टले एमाले नेतृत्वको सरकारमा आफूले थुप्रै योजना अगाडी बढाएको भए पनि सरकार ढलेपछि ती काम रोकिएको बताए ।
उनले एमाले सरकारले अघि बढाएका सुकुम्वासीलाई लालपुर्जा दिने, रोजगारी अन्त्यका लागि औद्योगिक क्षेत्र खोल्ने, यस क्षेत्रको स्वास्थ्यमा फड्को मार्ने गेटा मेडिकल कलेजको काम सरकार ढलेसँगै रोकिएको बताए ।
‘दैजी– छेला औद्योगिक क्षेत्र, धनगढी–अत्तरिया औद्योगिक क्षेत्र, हरैया विशेष व्यापारिक क्षेत्र, जुडेधारी औद्योगिक क्षेत्र, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणका काम अगाडी बढेका छन्’ उनले भने ‘अहिले गठबन्धन सरकारले यसलाई रोकेको छ ।’
उनले एमाले सरकारले भूमिहीनलाई जग्गा दिने तयारी गरेको भए पनि सरकार ढालेपछि यो काम रोकिएको बताए । उनले भने ‘आफूहरूले काम गर्न पाएको भए ५ वर्ष भित्रमा सबैले जग्गा पाउने थिए । गठबन्धनको सरकारले यो कामलाई रोक्यो ।’
उनले अहिलेको सरकारले गेटा मेडिकल कलेज सञ्चालन गर्न नसकेकाले एमालेको सरकार आएपछि सो काम अगाडी बढाइने बताए । उनले विश्वविद्यालय मोडेलमा प्रस्तावित गेटा मेडिकल कलेजलाई सञ्चालन गरिने बताए ।
भट्टले उठाउँदै आएका यी सबै एजेण्डाहरु अघिल्ला चुनावहरूमा पनि भन्दै आएका थिए । तर, यी योजना पुरा नहुँदा भट्टले तिनै योजनालाई पुरा गर्ने भन्दै मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।
भट्टलाई निर्वाचित भएपछि आफ्नो क्षेत्रका मतदातालाई नभेटेको पनि आरोप लाग्दै आएको छ । जुन आरोपलाई नकार्न नसकेका भट्टले निर्वाचित भएपछि कानुन बनाउनमा व्यस्त हुँदा जितेर निर्वाचन क्षेत्रमा आउन नसकेको बताए ।
‘किन फर्केर आएनन् भनेर प्रश्न गरिन्छ । हामी संसदमा निर्वाचित भएर गएपछि त्यति बेला कानुनहरू थिएनन् । हामी कानुन बनाउनमा लाग्यौ’ उनले भने ‘साढे ३ सय कानुन, ऐनहरू बने । त्यसले साचिकै यो देशलाई अगाडी बढाएको छ ।’
पहिलो पटक यस क्षेत्रमा चुनाव लडिरहेका बलायरले भने पटक– पटक परीक्षण भइसकेका भट्टले यस क्षेत्रमा कुनै काम गर्न नसक्ने दाबी गर्दै आएका छन् । उनले आफ्ना अधिकांश चुनावी भेलामा लेखराज भट्टकै लाचारीका कारण यस क्षेत्रको विकासले गति लिन नसकेको बताउने गरेका छन् । बलायरले यस क्षेत्रबाट चौथो पटक चुनावमा लडिरहेका भट्टका विगतका कमजोरी खोतल्ने प्रयास गर्ने गरेका छन् ।
सोमबार नै गोदावरी नगरपालिका – ११ मै चुनावी सभालाई सम्बोधन गर्दै बलायरले लेखराज भट्ट यस क्षेत्रका जनतामाझ घुलमिल नै हुन नसकेको आरोप लगाए । ‘बोल्नै गाह्रो, हाँस्न त देखेकै छैन । मान्छेको दुःख र सुखमा सहयात्रा गर्न सकिएन भने त्यसलाई राजनीति भनिँदैन’ भट्टलाई लक्षित गर्दै बलायरले भने ‘म त यहाँ आएपछि १५ जना बित्नुभयो, उहाँहरुको शवयात्रामा गए । मान्छेको बिहेवारि भए, खुसी मनाउन जाउँला । मानिसको समाजमा हुने वेदना र संवेदना सँग हामीले सहभागिता जनाउन सकेनौ भने त्यो मानवीय सभ्यता हुँदैन ।’
उनले आफू भोट माग्न मात्रै गफ लगाउने मान्छे नभएको बताए । ‘म नसक्ने काम हुन्छ भन्दै भन्दैन । मैले नसक्ने काम यो गर्दिन्छु त्यो गर्दिन्छु भनेर भोट मागेकै छैन’ उनले भने ‘यहाँ के– के काम गर्नुपर्ने छ मलाई राम्रो सँग थाहा छ । म कुन योजना कसरी सुरु गर्ने योजना बनाउँदै छु ।’
उनले आफूले पालिका, प्रदेश सरकार र संघ सरकार सँग समन्वय गरेर यस क्षेत्रको समस्या समाधानका लागि लागिपर्ने बताए । ‘कहाँ कसको घोक्रो (घाँटी) समातेर हुन्छ म यस क्षेत्रको विकासका लागि योजना ल्याउनेछु’ उनले भने ‘मलाई तपाईँहरू नरोक्नुस् । मलाई जिताउनुस् । मलाई थाहा छ कहाँ के गरेर योजना ल्याउन सकिन्छ ।’
उनले यसअघि चुनाव जितेकाहरू जितेपछि नफर्किएको बताए । ‘मैले देखे यहाँ चुनाव जितेपछि फर्किएकै रहेनछन् । ३ पटक भोट दियो फर्केनन्’ उनले भने ‘म पहिलो चोटि यस क्षेत्रमा चुनाव लड्ने क्रममा खैराला पुगे । लेखराज दाइ त सो क्षेत्रमा भूमिगत हुँदा बस्नु भएको रहेछ । तिन चुनाव लडेर जितेपछि भने फर्किनु नै नभएको रहेछ ।’
उनले लेखराज भट्टले आफूले प्रतिष्ठानको नाममा पाएको एम्बुलेन्सबाट रकम असुलिरहेको बताउँदै आफूले त्यस्तो काम नगर्ने बताए । ‘आमाबुवाको नाममा प्रतिष्ठान खोलेर एम्बुलेन्स पाए । अहिले त्यसमा पैसा लिइरहेका छन्’ लेखराज भट्टलाई लक्षित गर्दै उनले भने ‘म अहिले घोषणा गर्न चाहन्छु । निर्वाचित भयो भने मैले ३० वडा छन् । ती ३० वडामा २ वर्ष भित्रमा एक/एक वटा एम्बुलेन्स दिने छु ।’ एम्बुलेन्स वितरण भएमा प्रसूति हुन नसकेर महिलाले ज्यान गुमाउन नपर्ने उनले बताए ।
‘प्रसूति भएका महिला, आर्थिक रूपमा विपन्नहरूले भिख माग्नु पर्ने छैन । बरु म जनताका लागि भिक माग्छु’ उनले भने ‘म समाजप्रति जिम्मेवार छु ।’
प्रतिक्रिया