ललितपुर । क्याम्पियन स्कुल लगनखेलको आयोजनामा कार्तिक २७ गतेदेखि ३० गतेसम्म अन्तरविद्यालय क्याम्पियन कप रनिङ शिल्ड आयोजना हुने भएको छ ।
काठमाडौं उपत्यकाका ४० विद्यालयका कक्षा सातदेखि दश कक्षाका विद्यार्थीको सहभागिता रहने प्रतियोगितामा सहभागी विद्यालयले चार बिधा फुटसल, बास्केटबल, चित्रकला र निबन्धमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
प्रत्येक विधाको विजेतालाई ग्रेड दिइनेछ र सबै विधामा उत्कृष्ट ग्रेड प्राप्त गर्ने विद्यालयलाई च्याम्पियन ट्रफी दिइनेछ । क्याम्पियन कपमा प्रथम हुने विद्यालयलाई पन्ध्र हजार, द्वितीयलाई दस हजार र तृतीय स्थान हासिल गर्नेलाई सात हजार पुरस्कारको राशी प्रदान गरिने छ ।
क्यापियन एकेडेमीका संयोजक विवेक शाहीका अनुसार, लकडाउन यता विद्यालय स्तरका प्रतियोगिता खासै आयोजना भएको छैनन् । विद्यार्थीहरू पनि आउटडोर खेलभन्दा भर्चुअल खेलमा बढी केन्द्रित भएको देखिन्छ । विद्यार्थीलाई कोठा र मोबाइलबाट बाहिर ल्याउन पनि यो प्रतियोगिता आयोजना गरिएको संयोजक शाहीले बताए । यस्तै बौद्धिक एवम् शारीरिक खेलका प्रतियोगिता एकैसाथ कम आयोजना हुने गरेको छ । उक्त प्रतियोगितामा दुवै फरक विधा एकैसाथ समावेश गरिनुको मुख्यकारण भनेको विद्यार्थीको सर्वाङ्गीण विकासमा टिवा समेत पुगोस् भन्ने हो।
चार दिनसम्म चल्ने प्रतियोगिता क्याम्पियन स्कुलको खेल मैदानमा हुने छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजनाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए ।
प्रतिक्रिया