१४ फाल्गुन २०८०, सोमबार

राजधानी तोकिएको जङ्गलभित्र अवैध ढुङ्गाको भण्डार



अत्तरिया । सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरीमा अवैध ढुङ्गाको भण्डारण गरिएको पाइएको छ । गोदावरीमा नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको भए पनि प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी क्षेत्रको जङ्गलभित्र भने अवैध रूपमा ढुङ्गा सङ्कलन गरेर जङ्गलभित्र लुकाइएको पाइएको हो ।

ट्याक्टर व्यवसायीहरूले लुकिछिपी नदीबाट ढुङ्गा सङ्कलन गरेर जङ्गलभित्र थुपारेका छन् । स्थानीयले साँझ, बिहानको समयमा आउने ट्याक्टरहरूले नदीबाट ढुङ्गा सङ्कलन गरेर जङ्गलमा जम्मा गर्ने गरेको बताएका छन् ।

नाम नबताउने सर्तमा एक स्थानीयले भने ‘दैनिक जसो साँझ, बिहानको समयमा ट्याक्टर आउने गरेका छन् । उनीहरूले नदीबाट ढुङ्गा निकालेर जङ्गलमा जम्मा गर्ने गरेका छन् ।’

४ वर्ष अघि सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा गरिएको भए पनि हाल सो क्षेत्रमा कुनै पनि संरचना बनेका छैनन् । जुन क्षेत्र हाल अवैध ढुङ्गा भण्डारण गर्ने ठाउँ बनेको छ ।

गोदावरी नगरपालिकाले गोदावरी नदीबाट नदीजन्य पदार्थ सङ्कलनका लागि ठेक्का सम्झौता गर्दै आएको भए पनि यो वर्ष ठेक्का सम्झौता गर्न ढिलाइ हुँदा नदीजन्य पदार्थ सङ्कलनमा रोक लगाइएको छ ।

सामान्यतया नगरपालिकाले असोज १ गते देखि गोदावरी क्षेत्रमा रहेका नदीबाट नदीजन्य पदार्थ सङ्कलनका लागि अनुमति दिँदै आएको थियो । जसका लागि नगरपालिकाले ठेक्का मार्फत सेवा शुल्क उठाउने गरेको थियो ।

यस वर्ष भने ४ पटक बोलपत्र आह्वान गर्दा समेत ठेकेदार नपाउँदा नदीजन्य पदार्थ सङ्कलनको काम सुरु हुन सकेको छैन । जसका कारण यस क्षेत्रका नदीहरूबाट अवैध रूपमा हुने उत्खनन बढेको छ ।
नगरपालिकाले गोदावरीले खुटिया, खैराना र गोदावरी नदीबाट नदीजन्य पदार्थ सङ्कलनका लागि ठेक्का सम्झौता गर्ने गरेको छ । नगरपालिकाको मुख्य आयस्रोत नदीजन्य पदार्थबाट आउने सेवा शुल्क बन्दै आएको भए पनि यस वर्ष चालु आर्थिक वर्ष सकिएको ४ महिना बितिसक्दा पनि ठेक्का सम्झौता हुन सकेको छैन ।

नगरपालिकाले नदीजन्य पदार्थ बिक्री शुल्क सङ्कलनका लागि भदौ ५ गते पहिलो पटक बोलपत्र आह्वान गरेको थियो । त्यसपछि असोज २४ गते, कार्तिक ३ गते, कार्तिक २१ गते बोलपत्र आह्वान गर्दा पनि बोलपत्र पेस नभएपछि नगरपालिकाले पुनः पाँचौँ पटक बोलपत्र आह्वान गरेको छ ।

चौथो पटक ५ करोड ५० लाख न्यूनतम बोलपत्र रकम राखेर बोलपत्र आह्वान गरिएको भए पनि यस पटक ४ करोड मात्रै न्यूनतम रकम राखेर बोलपत्र आह्वान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले बताए ।
गत वर्ष नगरपालिकाले दोस्रो पटक न्यूनतम ५ करोड ५० लाखमा बोलपत्र आह्वान गरेकोमा ६ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा भने नगरपालिकाले कोरोना महामारीका कारण ठेकेदार नपाएको भन्दै आफैले नदीजन्य पदार्थ बिक्री शुल्क उठाएको थियो । जसमा ३ करोड मात्रै राजश्व सङ्कलन भएको थियो ।

नदीमा बर्षेनी उत्खनन गर्दा नदीजन्य पदार्थ कम पाउन थालिएपछि पछिल्लो समय ठेकेदारहरूले यसमा रुचि देखाउन छाडेका छन् । यस वर्ष ठेक्का लगाउनु अघि नै अवैध रूपमा उत्खनन भइरहेकाले घाटा हुने देखेर ठेक्का प्रक्रियामा नआएको एक ठेकेदारले बताए ।

नगरपालिको नदीजन्य पदार्थ सङ्कलनको मापदण्ड बनाएर ठेक्का सम्झौता गराउँदै आएको भए पनि मापदण्ड विपरीत हुने अवैध उत्खननले पर्यावरण संरक्षणमा पनि चुनौती थपिने गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ४ : ०५ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२