राजधानी लाइभ, काठमाडौं ।
वर्षौंदेखि नक्कली डाक्टर बनेर ललितपुरस्थित ढोलाहिटीमा अन्तिम विकल्प नामक क्लिनिक चलाएर लुट मच्चाइरहेका क्रिश्चियन पादरी सुवास सुब्बा लिम्बुले एचआइभी एड्स र क्यान्सर निको पार्ने भन्दै एउटै डिब्बा औषधिको ३० हजार रुपैयाँसम्म शुल्क लिने गरेको तथ्य फेला परेको छ ।
उनले आफूलाई ईश्वरीय शक्ति प्राप्त भएकाले क्यान्सर र एचआइभी निको पार्ने दाबी गर्दै एक महिनाको लागि खाने ‘चमत्कार’ नामक औषधिको ३० हजार रुपैयाँ लिने गरेको प्रमाण फेला परेको हो ।
लकडाउन शुरु हुनुअघि ५० हजारसम्म बेच्ने सो औषधी लकडाउनपछि ३० हजारमा बेच्ने गरेको स्रोतले बतायो । तेह्रथुममा जन्मेका सुब्बाले आयुर्वेदिक औषधीको व्यापार शुरु गरेको ६ महिनामा ललितपुरको नखिपोटमा आलिसान महल ठड्याएको समेत उनी निकटहरू बताउँछन् ।
अचम्मको कुरा त के छ भने लिम्बुले आफ्नो बैंक खाता नै नभएको भन्दै उपचार गर्न आउनेहरूबाट नगद रकम मात्रै लिने बिरामीहरू बताउँछन् । उनी कि त नगद नगद रकम लिन्छन् कि त आइएमइ गर्न लगाउँछन् बैंकमा खाता नै नभएको भन्दै पैसा हाल्न समेत मान्दैनन् ।
उनले चलाइरहेको अन्तिम विकल्प नामक क्लिनिकको कारोबार समेत पारदर्शी देखिँदैन । कहिले नेपालमै पेट्रोल आविष्कार गरेको त कहिले कोरोनाको औषधि बनाएको दाबी गर्ने गरेका नक्कली डाक्टर तथा क्रिश्चियन पादरी सुब्बाले डा. उपेन्द्र देवकोटाको उपचार कसैले गर्न नसके म सक्छु भन्दै स्टण्टबाजी समेत गरेका थिए ।
अनेक स्टण्टबाजी गर्दै हमेशा चर्चामा रहिरहने बानी परेका नक्कली डाक्टर सुब्बाले दर्जनौं युट्युब च्यानलहरूमा एचआइभी एड्स संक्रमण र क्यान्सर लगायतका जटिल रोगहरू निको पार्ने दाबी गरेका सामग्रीहरू छ्यापछ्याप्ती भेटिन्छन् । जसमा कतिपय अन्तर्वार्तामा उनी बिरामीहरू भन्दै अन्य व्यक्तिहरूलाई समेत आफ्नो पक्षमा बोल्न लगाउने गरेको भेटिन्छ ।
उनको ठगी धन्दाको मुख्य आड भनेको क्रिश्चियन धर्म रहेको देखिन्छ । आफूलाई ईश्वरीय शक्ति प्राप्त भएको भन्दै दाबी गर्ने गरेका नक्कली डाक्टर सुवास सुब्बा पादरी समेत हुन् । क्रिश्चियन समुदायका आम सर्वसाधारणको आस्था र विश्वासलाई ब्लाकमेलिङ गर्दै नक्कली डाक्टर बनेर सुब्बाले राज्य संयन्त्रलाई ठाडो चुनौती दिइरहेका छन्, भने आम सर्वसाधारणको स्वास्थ्यमाथि अपराधपूर्ण खेलवाड गरिरहेका छन् ।
कोरोना महामारीको समयमा अफवाह फैलाएको भन्दै पक्राउ
नक्कली डाक्टर एवं क्रिश्चियन पादरी सुवास सुब्बा लिम्बु कोरोना महामारीको समयमा अफवाह फैलाएको भन्दै विसं. २०७७ भदौ २२ गते पक्राउ परेका थिए ।

उनले विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अंग निकालिने गरेको भन्दै भ्रामक अभिव्यक्ति दिएका कारण महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको थियो । भने २०७७ असोज ११ गते ५ हजार रुपैयाँ धरौटी तिरेर उनी रिहा भएका थिए ।
नाम वा बदनाम जे सुकै भए पनि गुमनाम नहुने उनको प्रवृत्ति देखिन्छ । आफूलाई प्राकृतिक चिकित्सक दाबी गर्ने क्रिश्चियन पादरी सुब्बाले भारतको कालेम्पुङबाट एग्रिकल्चरमा ग्रयाजुएट गरेको बताउने गरेका छन् ।
तर उनी आफूलाई स्वघोषित डाक्टर बताउँदै अवैध रूपमा खुलेआम ठगी धन्दा चलाइरहेका छन् । उनले कोरोना महामारीको समयमा आफूले कोरोना निको पार्ने औषधि समेत आविष्कार गरेको भन्दै हावादारी दाबी समेत प्रस्तुत गरेका थिए ।
अन्तिम विकल्प र सुब्बाबारे समाचार लेख्दा निरन्तर धम्की, समाचार हटाउन दबाब
राजधानी लाइभ डटकमले २३ बैशाख शनिबारमा धर्मको आडमा अवैध धन्दा चलाउँदै क्रिश्चियन पादरी सुवास सुब्बा, क्यान्सर र एड्सको औषधि भन्दै किलोमा बिक्री शिर्षकको समाचार प्रकाशन गरेपछि नक्कली डाक्टर सुब्बाको तर्फबाट निरन्तर धम्की आइरहेका छन् ।
राजधानी लाइभर्कीको मोबाइलमा पटक पटक अपरिचित नम्बरहरूबाट तत्काल समाचार हटाऊ, अफिस कता हो, हावा समाचार लेख्ने, सरकारले पत्याइरहेको छ तिमी किन जान्ने भाको, कसको दबाब यो समाचार लेखेको रु लगायतका भाषा प्रयोग गर्दै निरन्तर धम्कीपूर्ण फोन कलहरू आइरहेका हुन् । यद्यपि नक्कली डाक्टर एवं क्रिश्चियन पादरी सुवास सुब्बा लिम्बु आफै भने सम्पर्कमा आएका छैनन् ।
उनले विभिन्न स्रोतहरूको प्रयोग गर्दै धम्कीपूर्ण भाषामा समाचार हटाउन दबाब सिर्जना गर्न खोजे पनि राजधानी लाइभले स्पष्ट रूपमा समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिल नेपाल लगायत नियामक संस्थाहरुमार्फत् प्रक्रियागत रूपमा अघि बढ्न आग्रह गर्दै आएको छ ।
के भन्छन् सरोकारवाला ?
नक्कली डाक्टर क्रिश्चियन पादरी सुवास सुब्बाको ठगी र एचआइभी एड्स र क्यान्सर निको पार्ने दाबीबारे राजधानी लाइभले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका सूचना अधिकारी डा। मुकर्ण थापासँग जिज्ञासा राख्दा उनले यस्ता खालका झुठा दाबी गर्दै भ्रम फैलाउन नमिल्ने बताए ।
क्यान्सर, एचआइभीको औषधिको बारेमा अनुसन्धान गर्न समेत नियामक निकायबाट निश्चित मापदण्ड पुरा गरेर अनुमति पाएपछि त्यस्तो खालको सोध वा अध्ययन गर्न सकिने भए पनि त्यत्तिकै बिना अध्ययन अनुसन्धान ग्यारेन्टी नै लिएर जोखेर औषधि दिने कुरा कानुन विपरित रहेको उनी बताउँछन् ।
जिल्ला आयुर्वेद स्वास्थय केन्द्र ललितपुरले भने यसबारे खासै बोल्न मानेन । नाम नबताउने शर्तमा एक अधिकारीले उक्त संस्था आफू मातहतमा दर्ता भएको तर यसको केही प्रक्रिया बाँकी रहेको बताए ।
यद्यपि यसरी झुटो दाबी गर्दै जनस्वास्थ्यमाथि खुलेआम खेलवाड गर्नु अपराध रहेको केन्द्रले स्वीकार गरेको छ । यसबारे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले अध्धयन तथा अनुगमन गर्ने समेत बताएको छ ।
नेपाल मेडिकल काउन्सिलका कालुसिंह खत्रीले उक्त क्लिनिकमा तत्काल केही दिनभित्र छापा मार्ने तयारी भइरहेको बताए । नक्कली डाक्टर सुवास सुब्बाको ठगीले सीमा नाघेको भन्दै उनलाई कारबाहीको दायरामा ल्याइने उनले प्रतिबद्धता जनाएका छन् ।
गाउँघरमा पाइने जडीबुटी एक ठाउँमा मिसाएर औषधी भन्दै अफवाह फैलाउने र चर्को मूल्यमा बिक्री गर्नु अपराध रहेको सरोकारवालाहरु बताउँछन् । यद्यपि यसबारे सरकार र नियामक निकाय भने मुकदर्शक र निरीह भएर बसिरहेका छन् ।
याे पनि…
प्रतिक्रिया