राजधानी लाइभ, भैरहवा ।
सुरक्षाकर्मी र भन्सार चोरी तस्करी नियन्त्रण गर्न आक्रामक बन्दा तस्करहरूले तस्करी गर्ने शैलीमै परिवर्तन गर्ने गरेको पाइएको छ । अनेकन उपाय लगाउँदै तस्करहरूले तस्करी गरे पनि तस्करी न्यूनीकरणमा लागेको सुरक्षा निकाय सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारले ती उपायलाई पनि विफल बनाउँदै आएका छन् ।
वर्षौंदेखि सामान्य रूपमा गर्दै आएको तस्करहरूले अहिले सीमावर्ती क्षेत्रमा नियामक निकाय कडा रूपमा प्रस्तुत हुँदा तस्करी गर्ने तरिकामा नै बदलाव आउने गरेको छ ।
भन्सारमा एक बस्तुको प्रज्ञापन भरी अर्को बस्तुको भन्सार जाँच पास गराउन खोज्नु, कीर्ते कागजमा ट्रक नै पास गर्न खोज्नु जस्ता घटनाहरू बाहिरिए पनि तस्करहरूले अनेक उपाय अपनाइरहेका छन् । पछिल्लो समय कति पयले तस्कर पेशा नै छाडेका छन् भने कति यस क्षेत्रबाट पलायन भइसकेका सुरक्षा निकायको रिपोट छ ।
गत शनिबार रुपन्देहीको सिद्धार्थनगर–८ बाट सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरले रुपन्देहीको टिमले चामलको बोरामा चिनी बरामद गरेको छ । केही समय पहिला मलको बोरामा चिनी ओसारपसार भएको घटना बाहिरिए पनि शनिबारको घटनामा नेपाली चामलकै बोरामा अवैध रूपमा चिनी भित्रिएको पाइएको हो ।
चामलको बोराभित्र चिनी राखेर सिलबन्दी गरेर ल्याउने गरेको खुलेको छ । सावा मन्सुली, स्टीम राइस लगायतका ३ दर्जन बढी बोरामा चिनी प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी उपरीक्षक दिपक थापासहितको टिमले नियन्त्रणमा लिएको छ ।
नेपाली चामल उत्पादकको बोराहरूमा प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा अवैध रूपमा भित्रिएको २२ क्विन्टल चिनी सिद्धार्थनगर –८, मायादेवी बजार नजिकैबाट नियन्त्रणमा लिएको एसपी थापाले जानकारी दिए । २५ किलो र ५० किलोको विभिन्न चामलको बोरामा चिनी लैजाँदै गरेको विशेष सूचना हामीलाई आएको थियो, सोही सूचनाको आधारमा गएको टोलीले शनिबार दिउँसो करिब ३ बजे नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको एसपी थापाले जानकारी दिए ।
केही महिनाअघि यसै प्रकृतिको घटना मर्चवार लगायतको क्षेत्रबाट मलको बोरामा चिनी फेला परेको थियो । दैनिक उपभोग्य बस्तु धान, चामल अन्न र मलहरू ल्याउँदा सीमामा खटिएको टोलीले मानवीयताको नाताले केही खुकुलो बनाएको छ । सोही मौकामा तस्करहरूले सो को फाइदा उठाउँदै अन्न र मलको बोरामा चिनी भरेर ल्याउने गरेको पाइएको एक प्रहरी अधिकृतले भने ।
एक बस्तुको बोराभित्र फरक बस्तु राखेर प्याकिङ गरेमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उक्त बोरामा लेबलिङ गर्नुपर्छ, तर बरामद चामलको बोरामा कुनै प्रकारको लेबलिङ भने फेला परेको छैन । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ९ङ० अनुसार पसल सञ्चालकलाई जरिवाना गर्ने व्यवस्थासमेत रहेको छ ।
भारतले चिनी निर्यातमा रोक लगाएकाले पनि दैनिक उपभोग्य वस्तुको रूपमा अवैध चिनी रुपन्देही हुँदै भित्रिने र बाहिरी जिल्लामा जाने गरेको छ । सुरक्षाकर्मीको आँखा छलेर चामलको नाममा ती चिनी नेपाल भित्रिएको हुन सक्छ । हुन त तस्करी रोकिएको छैन भन्ने पुष्टि दैनिक बरामद अवैध चोरी पैठारीको सामानबाट पनि पुष्टि हुन्छ ।
तस्करी न्यून पार्ने अभियानमा लागेको सुरक्षा निकायकै केहीको संलग्नतामा विभिन्न नाकाबाट अझै पनि तस्करी भइरहेका छन् । विभिन्न चौकी र चेकपोस्ट पार गरि बजारमा आएर अवैध सामान बरामद हुनु भनेको सुरक्षाकर्मीकै मिलेमतो छ भन्ने स्पष्ट छ ।
सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीको जिम्मेवारी छ भने नेपाल प्रहरीको पनि ठूलो टिम पनि अवैध बस्तुको ओसारपसार नियन्त्रणमा लाग्ने गरेको छ । सुरक्षा घेरा हुँदाहुँदै पनि तस्करका सामान निर्बाध भित्री रहनु सुरक्षा निकायमाथि नै प्रश्न चिह्न छ ।
सीमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहुँ र चामल अवैध रूपमा भित्र्याई वैध बनाउने गरेका पनि छन् । पारिबाट ल्याएर नयाँ बोरामा राखेपछि स्थानीय उत्पादन हुन्छ भन्दै खुला रूपमा नै ट्र्याक्टर पिकअपबाट शहरहरुमा भिसीटिएस लगायतका प्रक्रिया अपनाएर पठाउने गरेका छन् । चौकीको अगाडिबाट नै तस्करीका सामानहरू निर्धक्क साथ जाने गरेको छ । कैफियत नभेटिएपछि सुरक्षानिकायले पनि रोक्न मिल्दैन एक प्रहरी अधिकृतले भने ।
भित्रिएको वा ओसार पसार भइरहेको बस्तु रोक्नका लागि हामीलाई पनि केही कमि भएको प्रमाण चाहिन्छ, चोरी पैठारी नगर्ने व्यवसायीहरू पनि हुन्छन् ती व्यवसायीहरू पनि अनाहकमा पर्न भएन यावत चुनौतीहरू हामी माझ रहेको प्रहरी अधिकृतले भने ।
सीमित जनशक्ति र स्रोतसाधनको प्रयोग गर्दै रुपन्देही जिल्लाअन्तर्गत ७० किलोमिटर अन्तर्राष्ट्रिय सिमानाको रक्षा, सीमा स्तम्भहरूको सुरक्षा, सीमावर्ती क्षेत्रका बासिन्दाहरूको शान्ति सुरक्षा तथा चोरी तस्करी नियन्त्रण एवं राजश्व संकलनमा भन्सार कार्यालयलाई सपोर्ट गर्न सशस्त्र परिचालित छ ।
शसस्त्र प्रहरीका आईजिपी राजु अर्यालले सीमा सुरक्षालाई थप मजबुद तथा चोरी तस्करी नियन्त्रण एवं राजश्व संकलन कार्यलाई थप प्रभावकारी बनाउन दक्षिणी सीमामा रहेका दुई सय एकाउन्न मध्ये पैतालिस वटा बोर्डर आउट पोष्ट ९विओपी०लाई स्तर उन्नति गरि डिएसपीको कमाण्डमा प्रस्तावित सीमा सुरक्षा गुल्म पनि बनेको छ ।
सशस्त्र प्रहरीले गर्ने काममा बाधा पुर्याएकोमा पच्चिस जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको छ ।
खासै व्यक्तिहरूलाई नियन्त्रणमा नलिएको सुरक्षानिकायले यो पटक भने सक्रियताका साथ संलग्नलाई पनि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएकोले पनि तस्करहरु केही हच्किएका छन् । तस्करीमा संलग्न व्यक्तिहरू ठूलो मात्रामा कानुनी कारबाहीको दायरामा आएको, कयौँले पेशा नै छाडेको र कयौँ व्यक्तिहरू पलायनसमेत भएका छन् ।
भैरहवा भन्सार कार्यालयले भने साना व्यवसायीहरू भन्सार पक्रियामा जान झन्झटिलो मान्ने गरेको कारण संगठित रूपमा तस्करी हुँदै आएको जनाएको छ ।
झन्झटिलो आयात प्रक्रियाले वैध रूपमा नियमित आइरहने सामानहरूमा पनि तस्करीको माध्यमबाट आउँदै गर्दा तस्करहरूले प्रशय पाइरहेको भन्सार स्रोतको दाबी छ । भैरहवा भन्सार कार्यालय हुँदै नियमित रूपमा आइरहने सामानहरू पनि वैकल्पिक बाटो हुँदै तस्करीको माध्यमबाट नेपाल आउने गरेको छ ।
प्रतिक्रिया