राजधानी लाइभ, काठमाडौं।
एकैपटक विभिन्न १९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका १७ नगरपालिका र २ उपमहानगरपालिका गरी १९ स्थानीय तहका प्रमुख प्रशासकीय फेरेको हो ।
जसअनुसार बाह्रबिसे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सरिता कुमारी खतिवडाको सरुवा भएको छ ।
सुनवल नगरपालिकामा कार्यरत भक्तिराम मरासिनी बाँणगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका छन् । यता शिवराज नगरपालिकाका चेतनाथ गिरी सुनवल नगरपालिका पुगेका छन् ।
बाँणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डेयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा सरुवा गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मुकुन्द शर्मालाई सरकारले देवचुली नगरपालिकामा खटाएको छ । यस्तै विष्णु प्रसाद भुसालको बुटवल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ ।
भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मीको मेचीनगर नगरपालिका, मेची नगरका महेश पराजुलीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ ।
नगराइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेद राज फुयलको जितपुर सिमरा उपमहानगरपालिका बारामा सरुवा गरिएको छ । यस्तै ईश्वरपुर नगरपालिकाका हिराकाजी श्रेष्ठ सिराहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका छन् ।
जिल्ला समन्वय समिति धनुषाका कमल बहादुर कार्कीको ईश्वरपुर नगरपालिका सर्लाही, सुखीपुर नगरपालिका सिराहाका प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण साहको रामगोपालपुर नगरपालिकामा पठाइएका छन् ।
भूमिका स्थान नगरपालिकाका बाबुराम पौडेलको शिवराज नगरपालिका, रामगोपालपुर नगरपालिकाका राम विनय कुमार (सिंह)को शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बेंसिशहर नगरपालिकाका गोकर्णराज सुयलको गृह मन्त्रालयमा सरुवा भएको छ ।
सरकारले जिल्ला समन्वय समिति जिसस रोल्पाका समन्वय अधिकारी ऋषिराम के.सी.लाई घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको छ । यस्तै विदुर नगरपालिकाका प्रशासकीय अधिकृत विनोद कुमार खनालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा सरुवा गरिएको छ ।
भने, वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषि प्रसाद सिटौलाको विदुर नगरपालिकामा सरुवा भएको छ ।
मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा गरेको हो ।
प्रतिक्रिया