राजधानी लाइभ, काठमाडौँ ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरूको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।
सो अस्पतालमा जाजरकोटबाट सात जना घाइते ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
जाजरकोटको खलङ्गाकाबाट बिहान ३ बजे एम्बुलेन्सले घाइतेहरूलाई नेपालगञ्ज भेरी अस्पताल ल्याएको थियो ।
घाइते बिरामीहरूको शनिबार बिहान ३ बजेदेखि नेपालगञ्जको भेरी अस्पतालमा उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पवनजङ्ग रायमाझीले जानकारी दिए ।
उनका अनुसार भूकम्पमा परी घाइते सातजनाको भेरीमा उपचार भइरहेको छ भने दश जनालाई हेलिकप्टरबाट राँझा ल्याइँदै छ ।
घाइते बिरामीहरूको उपचारका लागि निजी अस्पताललाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले बताए ।
बाँकेमा रहेका भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँचवटा शय्यासमेत तयारी अवस्थामा राखिएको उनले बताए ।
प्रजिअ पोखरेलेका अनुसार हेलिकप्टरबाट ल्याइने बिरामीका लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा एम्बुलेन्स तैनाथ गरिएको गरिएको छ ।
हाल अस्पतालहरूमा रगतको मौज्दात रहेको बताउँदै उहाँले रक्तदाता सुरक्षाकर्मीको पनि व्यवस्था मिलाइएको बताए ।
गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो ।
सो भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ ।
प्रतिक्रिया